नेपाल सरकार, स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालय अन्तर्गत संचालित “कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (VBDRTC)”ले लामो समयदेखि नेपालमा फैलिने मलेरिया लगायत कीटजन्य रोगहरूको रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। मलेरिया, कालाजार, जापानीज इन्सेफलाइटिस, फाइलेरिया, स्क्रब टाइफस र डेङ्गुजस्ता रोगहरूको अनुसन्धान, रोकथाम र नियन्त्रणमा यो केन्द्रले निरन्तर योगदान पुर्याउदै आएको छ। यी रोगहरू अझै पनि नेपालको जनस्वास्थ्यका लागि ठूलो चुनौतीको रुपमा रहेका छन।
हाल नेपालले परम्परागत रोगहरूसँगै नयाँ-नयाँ सङ्क्रामक रोगहरूको चुनौती पनि सामना गरिरहेको छ। साथै जलवायु परिवर्तन र एन्टिमाइक्रोबियल रेसिस्टेन्स (AMR) जस्ता समस्याले स्वास्थ्य क्षेत्रमा थप जोखिम बढाइरहेका छन्। यस्तो अवस्थामा VBDRTC ले “One Health” अवधारणाअनुसार मानव, जनावर र वातावरणबीचको सम्बन्धलाई ध्यानमा राखेर अनुसन्धान, तालिम तथा प्रमाणमा आधारित जनस्वास्थ्य कार्यक्रमहरुको लागि पैरवी गर्दै आइरहेकोछ।
हाम्रो उद्देश्य VBDRTC लाई प्रमाणमा आधारित नीतिनिर्माण (Evidence-Informed Policy Making) का लागि विश्वसनीय स्रोत केन्द्रका रूपमा विकास गर्नु हो। वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्य र प्रमाणलाई व्यवहारिक नीति तथा कार्यक्रममा रूपान्तरण गरी नेपालको स्वास्थ्य सुरक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न हामी प्रयासरत छौँ।
यस केन्द्रले स्वास्थ्यकर्मी तथा अनुसन्धानकर्ताको क्षमता अभिवृद्धि गर्न तालिम कार्यलाई समेत प्राथमिकता साथ सम्पादन गरिरहेको छ।बदलिँदो स्वास्थ्य चुनौतीहरू सामना गर्न आवश्यक ज्ञान, सीप र दक्षता विकास गर्न विभिन्न तालिम तथा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेका छन।हामी बहु-क्षेत्रीय सहकार्यलाई प्रगति र दिगोपनाको आधार मान्छौँ। त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान, अनुसन्धान संस्था तथा मेडिकल कलेजहरूलाई अनुसन्धान, तालिम र शैक्षिक गतिविधिमा सहकार्य गर्न हार्दिक निमन्त्रणा गर्दछौँ।
हामी सबैको संयुक्त प्रयासवाट मात्र नेपाललाई कीटजन्य तथा उदीयमान रोगहरूको जोखिमबाट नेपाल लाइ सुरक्षित बनाउन एवम विश्व स्वास्थ्य सुरक्षामा समेत महत्वपूर्ण योगदान गर्न सकिनेमा हामि विश्वस्त छौ र त्यसका लागि निरन्तर प्रयासरत छौ।