परिचय
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (Vector Borne Diseases Research and Training Center - VBDRTC) संघिय सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको कार्यालय हो । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको स्थापना सन् १९७९ मा नेपाल औलो उन्मूलन संघ (Nepal Malaria Eradication Organization-NMEO) अन्तर्गत "औलो अनुसन्धान तथा तालिम केन्द्र" को रूपमा भएको थियो। पछि, १२ जुन १९९६ मा यस केन्द्रको नाम परिवर्तन गरी "कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र" राखियो। यस केन्द्रको मुख्य उद्देश्य नेपालमा देखापर्ने कीटजन्य रोगहरूको कारक-तत्व, संक्रमण तथा प्रसारणको अवस्था, संक्रमणको तीव्रता र नियन्त्रण तथा रोकथामका लागि कार्यान्वयन गरिएका कार्यक्रमहरूको प्रभावकारिता सम्बन्धी knowledge gap लाई सम्बोधन गर्नु तथा प्रमाणमा आधारित नीति निर्माण गर्न आवश्यक तथ्य उपलब्ध गराउनु हो।
कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (VBDRTC), नेपालमा प्रमुख कीटजन्य रोगहरू जस्तै: मलेरिया, कालाजार, डेङ्गी, चिकनगुनिया, हात्तीपाइले (लिम्फाटिक फाइलेरियासिस), स्क्रब टाइफस, तथा जापानी इन्सेफ्लाइटिस लगायतका रोगहरू सम्बन्धी अनुसन्धान सञ्चालन गर्ने र प्राविधिक अध्ययन, तथा क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गर्ने राष्ट्रियस्तरको महत्वपूर्ण संस्था हो। औलो उन्मूलनमा आफ्नो ऐतिहासिक योगदानलाई निरन्तरता दिँदै, VBDRTC ले क्रमशः आफ्नो कार्यक्षेत्र विस्तार गरी अन्य कीटजन्य रोगहरूको बढ्दो भारलाई सम्बोधन गर्न अनुसन्धान मूलक कार्यहरु गर्दै आएको छ र उदीयमान जनस्वास्थ्यका चुनौतीहरूलाई समेत सामना गर्न आवश्यक तथ्यहरु पहिचान गरिरहेको छ ।
वर्तमान समयमा यस केन्द्रले जलवायु परिवर्तन (Climate Change) तथा प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance-AMR) जस्ता चुनौतीहरूको सामना गर्न आवश्यक वैज्ञानिक प्रमाणहरुको संकलन र प्रयोग गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने अवस्था विध्यमान छ। यी चुनौतीहरूको बहुआयामिक प्रकृतिलाई ध्यानमा राख्दै केन्द्रले मानव, पशु तथा वातावरणीय स्वास्थ्य बीचको अन्तरसम्बन्धलाई एकीकृत रूपमा सम्बोधन गर्ने “एक स्वास्थ्य अवधारणा” (One Health Approach) लाई अपनाउनु पर्ने अवस्था छ ।
VBDRTC ले राष्ट्रिय स्रोत केन्द्रको रूपमा, प्रमाणमा आधारित नीति निर्माण (Evidence-Informed Policy Making-EIPM) लाई प्रवर्द्धन गर्न, राष्ट्रिय क्षमता अभिवृद्धि गर्न, तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय तथा शैक्षिक संस्था, अनुसन्धान संस्था, विकास साझेदार संस्था, र अन्य सम्बन्धित निकायहरूसँग सहकार्य सुदृढ गर्न प्रतिबद्ध रहेको छ।
हाल सञ्चालित रहेका प्रमुख गतिविधिहरू
- मलेरिया माइक्रोस्कोपी तालिम (आधारभूत तथा पुनर्ताजगी)
- ईन्टोमोलोजी तालिम (आधारभूत तथा पुनर्ताजगी)
- कीटजन्य रोगहरू (VBDs) सम्बन्धी अभिमुखीकरण
- एकीकृत भेक्टर सर्वेक्षण, Vector Genomonitoring
- भेक्टरहरुमा विषादीको प्रभावकारीता परीक्षण
- एन्टी-मलेरियल (Anti-malarial) औषधिको प्रभावकारिता सम्बन्धी अध्ययन
- हात्ती पाइलेको आम औषधि सेवन (MDA) पश्चातको सर्वेक्षण (TAS, IIS)
- Scrub Typhus को Epidemiological Assessment
मुख्य कार्यक्षेत्रहरू
- अनुसन्धान तथा प्रमाण सिर्जना: कीटजन्य रोगहरू (VBDs) तथा उदीयमान संक्रामक रोगहरू (EIDs) सम्बन्धी अनुसन्धानका क्षेत्रहरू पहिचान गरि प्राथमिकिकरण गर्ने। यसअन्तर्गत रोग सार्ने भेक्टरहरूको जीवविज्ञान (Vector Bionomics), रोग सर्ने प्रक्रिया (Transmission Dynamics), तथा प्रभावकारी रोकथाम तथा नियन्त्रणका उपायहरू सम्बन्धी अनुसन्धान गर्ने।
- क्षमता विकास तथा तालिम : कीटजन्य रोग (VBDs) तथा उदीयमान संक्रामक रोगहरू (EIDs) को निदान, निगरानी, तथा व्यवस्थापन सम्बन्धी ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न स्वास्थ्यकर्मी, चिकित्सक, तथा सम्बन्धित व्यक्तिहरू (Focal Persons) लाई प्रशिक्षण प्रदान गर्ने।
- नीति सहयोग तथा पैरवी : प्रमाणमा आधारित नीति निर्माणका लागि राष्ट्रिय स्रोत केन्द्रको रूपमा कार्य गर्दै कीटजन्य रोगहरुको नियन्त्रण, उन्मूलन तथा उदीयमान स्वास्थ्य चुनौतीहरूको समाधानका लागि नेपाल सरकारलाई प्राविधिक सहयोग र तथ्य प्रमाण उपलब्ध गराउने।
- एकीकृत वाहक (Vector) व्यवस्थापन: तथ्यमा आधारित वाहक नियन्त्रणका रणनीतिहरू विकास, कार्यान्वयन, तथा मूल्याङ्कन गर्ने, भेक्टरहरुमा विषादीको प्रभावकारीता परीक्षण गर्ने, निगरानी, तथा एकीकृत वाहक व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउने।
- जलवायु परिवर्तन तथा स्वास्थ्य: जलवायु परिवर्तनका कारण स्वास्थ्यमा पार्ने प्रभावलाई सम्बोधन गर्न अनुसन्धान तथा तालिमका कार्यक्रमहरू विस्तार गर्ने। साथै, जलवायु परिवर्तनबाट उत्पन्न हुने स्वास्थ्य जोखिमहरुको सामना गर्न स्वास्थ्य प्रणाली तथा समुदायको उत्थानशीलता (Resilience) अभिवृद्धि गर्दै, प्रभावकारी रणनीतिहरू विकास तथा प्रवर्द्धन गर्ने।
- प्रतिजैविक प्रतिरोध (AMR): मानव, पशु तथा वातावरणीय स्वास्थ्यलाई समेट्ने "एक स्वास्थ्य" अवधारणा मार्फत, AMR अनुसन्धान, निगरानी, क्षमता विकास, तथा जिम्मेवारी पुर्वक औषधिको प्रयोग (Stewardship Program) लाई टेवा पुग्ने गरी अनुसन्धानको कार्यहरु गर्ने।
- अनुगमन तथा मूल्याङ्कन: राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमहरूसँग समन्वय र सहकार्य गर्दै, सञ्चालनमा रहेका स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारिता मूल्याङ्कनलाई सहजीकरण गर्ने। यस अन्तरगत एन्टी-मलेरियल (Anti-malarial) औषधिको प्रभावकारिता सम्बन्धी सर्वेक्षण, अध्ययन, हात्तिपाइलेको आम औषधि सेवन पश्चातको मूल्यांकन (TAS), एकीकृत भेक्टर सर्वेक्षण, तथा जनस्वास्थ्यका कार्यक्रमहरू (Public Health Interventions) को मूल्याङ्कन सहजीकरण गर्ने।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य: संयुक्त शैक्षिक गतिविधि, अनुसन्धान तथा तालिम प्रवर्द्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय, मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने।
- उत्कृष्टता केन्द्र (Center of Excellence): कीटजन्य रोग अनुसन्धान, तालिम तथा विश्व स्वास्थ्य सहकार्यका क्षेत्रमा VBDRTC लाई दक्षिण एसियाकै अग्रणी संस्थाको रूपमा क्रमश विकास गर्ने।